अकादमी,
पण्डीचेरी र गोर्खा विमर्श
-समशेर अली
कालेबुङ
छुदेन काविमोको
कथासङ्ग्रह ‘१९८६’-को विमोचनसँगसँगै, प्रेम प्रधान सरको फोन आयो, दार्जीलिङबाट
झट्टै साहित्य अकादमी नया दिल्ली सम्पर्क गर्नु भनेर। सम्पर्क भयो सचीव महोदयसित।
केहीदिन
पच्छ्यात निमन्त्रना पत्र सहित सुन्दर कार्ड प्राप्त भयो अकादमीबाट। मेरो नाम
कार्डमा अङ्कित रहेछ ‘वाई डु आई राइट?’ (‘म किन लेख्छु?’) विषयमाथि पन्द्रह मिनटको
वार्ता प्रस्तुत गर्नुपर्ने रहेछ।
वार्ता
तयार गर्न हतारिएँ। हप्तादिन भित्र लिपिवद्ध लामो वार्ता तयार भयो। सरसर्ती पढ्दा
४५ मिनट भएछ। छोट्याएँ २५ मिनटको भयो। फेरि छोट्याएँ १६ मिनट ४० सेकेन्ड भएछ, छिटो
छिटो पढ्दा। सजाएर फाईलभित्र हालेँ। विमोचनबाट लिएर आएको हस्ताक्षर सहितको छुदेनको
१९८६ जस्ताको त्यस्तै टेबलमा पल्टी रहेको थियो।
बेलुकीपख
कालेबुङको लोकल च्यानल खोलेर टी.भी. हेर्न बसेँ- डा हर्कबहादुर छेत्री बोल्दै
हुनुहुन्थ्यो- ‘हामी शिक्षित मानिस हौँ कुनै सर-सल्लाहबिना नै यसरी राजिनामा दे
भन्न कहाँ सकिन्छ र?, म मेरो निर्णय १८ सेप्टेम्बरकै दिन दिनेछु। कुरो १५
सेप्टेम्बर साँझको थियो। भोलिपल्ट पण्डीचेरी सम्मको हवाई टिकट लिन बजार लागेँ।
बजारमा पुगेर घाँइ-घुँई सुनियो ‘अहो! हर्क सरले रिजाईन गर्दैन पार्टीबाट कुरो
मिल्यो। म टिकट सङ्ग्रह गरेर घरतर्फ लागेँ। बेलुकी निउज् च्यानल खोलें।
नेपालको
सम्विधान तयार भएर जनतामाझ आउन लागेको रहेछ। झट्ट सम्झिएँ मेरो कथा संग्रहमा
उल्लेखित ‘काँडे तार’ र १९५० साले भारत-नेपाल मैत्री सन्धि। नेपालमा सम्विधान
बनिने भयो मलाई ढुक्क लाग्यो। यो कुनै डायस्पोरा थिएन, उत्सुक थिएँ कतै अब पचासको
सन्धी खारेज हुन्छ कि भन्ने। छुदेनको १९८६ दुई-चार घण्टाको हवाई यात्रामा पढ्न
पऱ्यो टेबलमा राखेर मनमनै सोंचे। अबेर रात बिनोद रसाईलीको खर्साङबाट फोन आयो,
दार्जीलिङ जिल्लाबाट हामी दुवैजनालाई अकादमीबाट निम्तो थियो। केही विशेष काम
विषयले एउटा विलम्ब हुने भयो र मलाई भोलिपल्ट बंगलोर हवाई अड्डामा भेट्ने कुरा
गर्नुभयो। श्रीमतीले सबै लुगाफाटा एउटा सानो सुटकेशमा हालीदिनु भो- जतनले मेरो
लेखको फाइल माथिबाट राखेँ। नेपाली टोपी र टाई पनि हालें।
१७
सेप्टेम्बर बिहानै बागडोगरा विमान स्थलतिर लैजाने इनोभा गाडी पनि आई पुग्यो घर
आँगनमै। समय भन्दा धेरै अघि पुगिएछ बागडोगरा। ‘चेक इन’ गरेर बोर्डिंग पास लिएँ।
मेरो ब्याग-प्याक आफुसित हातमा लिएँ। सुटकेश लगेजमा बुक गरिदिएँ। भित्र विश्राम
गृहमा गएर बेग खोतलें, लाहै! छुदेनको १९८६ लगाउनै बिर्सिएछु। मेरो पुरानो दुईवटा
कथा संग्रह सोल्दाती गोर्खा मोल्त्यो ब्योनी र बिउ भाले चाँही रहेछ। आफुले लेखेको
बिउ भाले कथा सङ्ग्रहका कथाभित्रका नायक ‘सेर जंग थापा’ मेरो आफ्नै बुबाको दोस्रो
विश्व युद्धको कथा। बुबालाई सम्झिएँ, हिउँदोमा मकलमा आगो फुकेर वरिपरी बसेर बुबाले
भनेका लडाईका कथाहरू। १९८६-को आन्दोलन शुरू भएकै २७ जुलाईको केही दिन पछी बुबा
बित्नु भयो। छुदेनले १९८६ मा के लेखेको छ थाहा छैन। बुबाले तत्कालिन प्रधान
मन्त्री राजिब गान्धी समक्ष दार्जीलिङलाई केन्द्रिय शासित प्रदेश अर्थात् युनियन
टेरिटोरी बनाईनुपर्छ भन्ने प्रस्ताव राख्नु भएको थियो दिल्लीमै प्रधान-मन्त्री
भेटेर। अझ ‘मिस’ गरें बुबालाई किनभने म केन्द्रिय शासित प्रदेश पण्डीचेरीतर्फ
लागिरहेको थिएँ अकादमीको निमन्त्रणामा। हेरौँ केन्द्रले शाषण गरेको दिल्ली शहर
हेरिसकेको थिएँ पण्डीचेरी हेर्ने मेरो निम्ति पहिलो मौका थियो।
इन्डिगो
हवाई जहाज समय मै उड्यो बाघडोगरा विमान स्थलबाट। हवाई जहाजभित्र सुन्दरी परिचायिकाहरू
देखेर एक क्षण घर भुलें। कोलकाता सुभास चन्द्र हवाई अड्डामा केही क्षण उत्रिएर
उडान भऱ्यो फेरि बंगलोर तर्फ। बंगलोर पुग्दा साँझ परिसकेको थियो, होटल तर्फ
लागें। भोलिपल्ट मात्र थियो पण्डीचेरीको निम्ति विमान, खर्साङबाट बिनोद भाइ पनि
आउने दिन। राती ओच्छ्यानमा पल्टेर फेसबुक खोलेँ ‘अहँ नेट चलेन’। घरमा फोन गरें,
खर्साङका बिनोद भाइलाई पनि उनी पनि हवाईजहाज चढेर कोलकाता आईपुगी सकेछ। छुदेनको
‘१९८६ कथा सङ्ग्रह’ मिस गर्दै सुतेँ। भोलिपल्ट १४ सेप्टेम्बरको दिन बिहान नौ
बजेतिर बिनोदको फोन आयो, बंगलोरमा ल्याण्ड गरिसकेछ। ‘एयरपोर्टमै भेट्नेछु’-फोनबाट
भनिदिएँ।, ३ बजीतिर एकै हवाईजहाजमा दुईजनाको टिकट थियो पण्डीचेरीको निम्ति। १२
बजीतिर होटलबाट ‘चक आउट’ गरें। बिनोदलाई बंगलोर हवाई अड्डामै भेटें। उ सँगै सिट
मिलाएर मैले आफ्नो बोर्डिंग पास लिएँ। मलाई देखेर प्रसन्न भए बिनोद भाइ अनि म पनि।
उडानको
समय भयो- हवाई जहाज देखेर हरेस खाएँ। पुरानो नक्सामा मात्र देखेको जस्तो हवाई
जहाज। पुऱ्याउछ के? –जस्तो लाग्ने। बरू मद्रास भएर गाडीको बाटो गएको भए पनि हुने
थियो जस्तो लाग्यो। हामीसित अनुहार मिल्दो अन्य तिन यात्रुहरू पनि थिए त्यो हवाई
जहाजभित्र।मन-मनै सोचेँ सुइटर बेच्न हिँडेका तिब्बती व्यापारीहरू होलान् भन्ने।
समयमै
हवाईजहाज उडयो परिचारिकाहरु देखेर घर सम्झे अघिको हवाईजहाजको भन्दा केही बयस्क
सुन्दरी मेरी श्रीमती जस्तै । सानु हवाईजहाज १५, २० जना यात्रुहरु थिए । उत्रियो पण्डेचरीमा त्यो एउटै मात्र हवाईजहाज आउँदो जाँदो रहेछ
पन्डेचरीमा त्यही १५, २० यात्रुहरुलाई पर्खेर बसेका गाडीहरु
रहेछन् हवाईअडडामा सबै यात्रुहरु गाडीमा चडेर गए । म र बिनोद भाइ मात्र रहयौ
हवाईअडडामा । गएर त्यहाँका सेक्युरीटि र्गाडहरुलाई सोध्यौ गाडी पाइन्छ भनेर
उनीहरुले फोन गरेर मगाउनु पर्छ भन्यो । यतिकैमा परबाट टेम्पो आयो फि टि टि गर्दै
हामीले रोक्यौ चडेर हाम्रो गन्तव्य होटल अन्नमलाई इन्टरन्याशनल तर्फ हानियौ ।
टेम्पो गएर आलिशन होटल समक्ष रोकियो गेटमा छ फूटे दर्बानले मुगल भेषमा अदब साथ
स्वागत गरयो । लक्जरी कारहरुको लाइन थियो होटल अघि । हामी मात्र टेम्पोमा फ्रन्ट
डेक्समा पुगेर हाम्रो रुम बुकिङको कुरो सोध्दै थियौँ एउटा भद्र मानिस आएर सोध्नुभो
- “तपाईहरु कहाँ बाट आउनु भो ?” अकादमीको
कार्यक्रमको निम्ति दार्जीलिङबाट । फेरि सोध्नुभयो-‘बाई एयर आउनुभो ?’
“हजुर”
म
अहिले अन्य अतिथीहरुलाई एयरपोर्टबाट लिएर आएको तपाईँहरुलाई देखिन त ?
म यस कार्यक्रमको संयोजक हुँ । हामीलाई नदेख्नुमा उहाँको कुनै भूल
थिएन । हाम्रा अनुहारहरुलाई अन्य भारतियहरुले कहाँ पो देखेका छन् र ? हाम्रो अनुहार नै यस्तो त्यो एयरपोर्टमा हामी दुवैजना मात्र रहदाँ पनि
कसैले नदेख्ने । भिडभित्रमा अन्तै कुरो । मन मनै सोचेँ यस देशले धेरै लाग्ने रहेछ
हामीलाई देख्नमा । सायद हामीले देख्ने काम नै पो गरेका छैनौ कि ? ?
अघि
हवाइजहाज भित्र देखेको तीन जना तिब्बती व्यापारीहरु पनि त्यही होटलमा रहेछन् होटल अन्नमलाई इन्टनेशनलभित्र प्रवेश गरिए पछि
कुनै कुनै कुराको कमि हुन दिएनन् । तारे
होटल हुनाको कारणले सम्पूर्ण कुराहरुको व्यवस्था, उच्चकोटिको शयन कक्ष । रुफ टपमा
सुईमिङ पूल ऐनाका लिफ्टहरु होटेलको लाउन्ज
र बडे बडे ब्याङक्वेट हलहरु शाही सत्कारमा रहयौँ दुईदिनसम्म ।
पहिलो
दिनको र्कायक्रम १९ सितम्बरको बिहान दश बजे हामीलाई वातानुकूल सेमिनार हलमा लिएर
गए जहाँ उत्तर पूर्विय भारत अनि दक्षिण भारतका १० वटा बिभिन्न राष्ट्रिय भाषाका
विभिन्न अर्वाडहरुद्वारा सम्मानित सर्जकहरुका जमघट थियो । जसमा असमिया,
नेपाली, मणिपुरी, चकमा,
कन्नडा, तमिल, तेलगु ,
मलयालम आदिका सर्जकहरुका उपस्थिती थियो ।
पहिलो
दिनको सम्भाषणमा अकादमीका सचिव के० श्रीनिवासा रावले भन्नुभयो “दिर्घ दिनदेखि हामी उत्तर पूविर्य भाषीहरुका साहित्य एवं सास्कृतिलाई “प्रमोट” गर्ने कोशिषमा लागि परेका फलस्वरुप भारतमा
अन्य भुभागका लेखक, कवि, नाटककार,
समालोचकहरुलाई उत्तर पूविर्य प्रान्तका सर्जकहरुसँग जोड्न सक्षम
भएका छौँ ।
प्रख्यात
उडिया लेखक मनोज दासज्यू भन्नु हुँदै थियो— भारतको
सबै भन्दा पुरानो साहित्य तामिलसँग आज सबै भन्दा कान्छो कोको बोरोक साहित्यिक र
सर्जकहरुको जमघटमा म अति नै प्रसन्न छु ।
चन्द्रशेखर
काम्बर साहित्य अकादमीका उप-सभापतिले आफ्नो सम्भाषणमा जोड दिँदै भन्नुभयो —भारतवर्षका एकतामा विभिन्नतामा रहेका हाम्रा भाषा साहित्यको रुपमा विश्वको
सामु हामी प्रस्तुत गर्न सक्छौँ । हामीले आजसम्म अनुवाद साहित्यमा भने जस्तो काम
गर्नु सकेका छैनौ गर्नु पर्छ । बृतानी हुकुमतमा अङ्ग्रेजहरुले संस्कृत भाषाको बदली
अङ्ग्रेजी भाषा जन मानसमा फैलाए जसले गर्दा हाम्रा साहित्यहरु पनि राष्ट्रीय अनि
अन्तराष्ट्रिय स्तरमा देखा पर्न थाल्यो । भाषा साहित्यका आञ्चलिक घेराबन्दीहरु
भत्कँदै गए अनि अङ्ग्रेजी भाषाको माध्यमद्वारा हाम्रा भावहरु एकाअर्कामा प्रकट
गर्न समक्ष बन्यौँ । अङ्ग्रेजहरुको यो हेजीमोनिक शक्तिले नै हाम्रो विभिन्न आञ्चलिक
साहित्यहरु परस्परमा सम्पर्क बडाउन सहायता गरयो । आजपनि कतिपय साहित्यहरु आफ्नो अञङचलभित्र
मात्र सिमित छन् जसको अनुवादहरु विभिन्न भाषामा हुन अनिवार्य छ । एकपल्ट अङ्ग्रेजी
भाषामा अनुवादित साहित्यलाई त्यसबाट टिपेर अन्यान्न भाषाहरुमा अनुवाद गर्न सकिन्छ
।
अनुवाद
गर्नु भने जस्तो सजिलो हुँदैन । अनुवादकलाई दुईवटै भाषाको पूर्ण ज्ञान हुनपर्छ विशेष
हाम्रो देशमा हिन्दी र अङ्ग्रेजीमा अनुवाद गरिन्छ अनि अकादमीले सो कार्य गरिरहेछ
तरै पनि यो खुटयाउन गाह्रो छ कुन अनुवादक कति सक्षम छन् र सठिक अनुवाद गरिरहेछन्
तमिल साहित्यका सल्लाहकार के० नाँचीमुयु यसरी बोल्दै हुनुहुन्थ्यो साहित्य अकादमी
नयाँ दिल्लीलाई यो सुझाऊ राख्न चाहन्छु हामीले विभिन्न भाषाका अनुवाद साहित्यका
विद्धानहरुलाई अनुवाद कार्यशाला किंवा प्रशिक्षण दिएर असल अनुवाद साहित्यको
निर्माण गर्नु सक्छौ । उहाँले आफ्नो सम्भाषणमा अझ थपे अङ्ग्रेजी साहित्यका लेखक
एवं समालोचक के० सी० बराल मेघालयबाट आफ्नो सारगर्भित सम्भाषण प्रस्तुत गरे ।
अनुवाद
संस्कृति माथि एउटा रोचक पेनल डिस्कसन पनि राखियो उक्त दिन । मणिपुरका डा० रन्जीत
थोकयोम खुबै असल ढङ्गमा आफ्ना प्रस्तुती दिए भन्दै हुनुहुन्थ्यो ।
-‘हामी
मान्छौ हाम्रो साहित्य अन्य भाषीहरुका तुलना कान्छो हो तर हाम्रा लोक साहित्य र
लोकगीतहरु सायदै अन्य भाषीहरु भन्दा धेरै धनी छन् । अमेजोनको जङ्गलमा यस्ता
प्रजातिहरु पनि पाइएका छन् जसको भाषामा एउटै मात्र शब्द छ “इन्जे”
यदि शब्दलाई विभिन्न प्रकारले उनिहरु प्रयोगमा ल्याउँछन् र
एकाअर्कामा आफ्नो भाव प्रकट गर्छन् । उनिहरुका एउटै शब्द “इन्जे”मा पनि आफ्नो लोक-साहित्य बचाएर राखेका छन् यी इन्जे आदिवासीहरुले । डा०
रन्जीत बोल्छन् ।
अपरान्ह
भोजन पछि आसामबाट गएका अन्तराष्ट्रिय बाद्य — बादक र
नर्तकीहरुले बिहु नृत्य प्रस्तुत गरेर सबैलाई मन मोहक तुल्याए ।
पहिलो
दिनको र्कायक्रम पछि हामी होटल फर्कियौँ र साँझपख पन्डेचरीको समुद्री किनारातर्फ
लाग्यौँ धेरै पर्यटकहरुको भिडमा म स्वंय र बिनोद भाई पनि अल्पियौँ । होटलमा
फर्किएर आयौँ अनि फ्रन्ट अफिसमा गएर वाई फाईको पास वर्ड माग्यौँ । अहिलेसम्म बन्द
भएको सेलफोनको नेट खोलेर फेसबुक खोलेर हेरेँ । डा० हर्कबहादुर छेत्रीले पार्टीबाट
इस्तिफा दिएछ त विधायकको पद यथावत राखेछ ।
सम्झे छुदेन काविमोको १९८६ इतिहास दोरिन्छ
भन्थ्यो दोहोरिएछ । सुबास घिसिङको पालोमा पनि यहि कुरो भएको थियो । तत्कालिन
कालेबुङका बिधायक एन० टी० मोक्तानले बिधायकको पदबाट राजिनामा दिन अस्विकार गरेका
थिए ।
भोलिपल्ट
२० सेप्टेम्बरको दश बजेदेखि पन्डेचरी सहकारी संस्थानको वातानुकूल हलभित्र अकादमीको
कार्यक्रम पुनः शुरु भयो । गौवाहटीका बुज्रुक प्राध्यपक जी० पी० शर्मा अध्यक्षको
चौकीमा आसिन हुनुहुन्थ्यो । पाँचजना क्रमैले कन्नड, मलयालम, मणिपुरी, तामिल अनि
तेलगुका कथाकारहरुले आ—आफ्ना छोटो कथाका अङ्ग्रेजीमा अनुवाद सुनाए
। जसमध्ये सुश्री सुरमा निगोमबाम मणिपुरकी कथा खुबै मन छुने थियो । कथाको अङ्ग्रेजी
शिर्षक ‘अलोंग द अर्थस् इटर्नल पासाज’ नारीवादी उक्त कथाले
मणिपुरका नारीहरुका मार्मिकता बोकेको थियो । त्यो कथा सुनेर कुनै दिन देश भरका
अखबरहरुको हेड लाइन बनेको बलात्कृत मणिपुरकी अबला नारीको सम्झना भो । जसमा घर
घरबाट आमाहरु निक्लेर नग्न बिक्षोभ प्रर्दशन गर्न सडकमा ओर्लेका थिए ।
कथाको
बयान पश्चात अब मेरो पालो आयो Why do I write माथि
आफ्नो प्रस्तुति पेश गर्ने । अध्यक्षतामा प्रोफेसर जी० पी० शर्मा हुनुहुन्थ्यो ।
आसामबाट देवब्रत दास, तामिलभाषी के० पन्चगाम चेन्नईबाट थिए ,
जे० एस० मुन्नी तेलगु लेखक अनि म स्वंय दार्जीलिङबाट ।
मैले
आफ्नो निर्णयलाई बदलिएँ म मेरो प्रस्तुति पढेर सुनाउदिन भन्ने। सम्पूर्ण लगेको
मेरो लेखलाई एकापट्टि थन्काएर बोल्न थालेँ । ‘मेरो हार्दिक अभिवादन यस हलमा
उपस्थित रहनुभएका सभापति एवं सम्पूर्ण
दर्शकदिर्धाका महानुभावहरुलाई । म आफैलाई साहित्यिक दैत्यहरुको सामु
बाउन्ने सम्झिरहेछु । तपाईहरु जस्ता ठूला ठूला कृतिहरु मसित छैनन् । तरैपनि यस्तो
गरिमामय स्थान दिएर बोल्न दिनुभएकोमा म अकादमीप्रति आभार व्यक्त गर्न चाहन्छु ।’-
मेरो पुरानो छोटो नेपाली कविता बुख्याँचाबाट मेरो संभाषण शुरु गरेँ ।
Scare crow (बुख्याँचा)
out of my grand
father’s lahurey hat
my father’s
army over coat
my mother’s roasted
corn pot
and my own tattered
trousers
I constructed
fright for the birds
In paddy
seedlings
When wind blew
life in it,
Scare crow dare
turns
To frighten me
instead
(Translated
D.T. Lepcha.)
सुनेर
दर्शकदिर्घाबाट धेरैले ताली मारे मेरो आफ्नै युद्ध कथाहरुका बिमर्शमा धेरै बोलेछु
। पहिलो विश्वयुद्धबाट २०,००० हाम्रा पूर्खाहरु
पूविर्य युरोपबाट घर फर्केका कुराहरु । दोस्रो महायुद्धमा मारिएका २२,००० गोर्खाहरु जसको दुःखलाग्दो लिखित कथाहरु बिरलै पाइन्छ इतिहासमा । गायत्री
स्पिवाकले भने मुताबिक हामी आवाज हराएका निमुखा “सबाल्टर्न”-हरु हौँ । हाम्रा इतिहास र कथाहरु अरुले नै लेखिरहे बीर र बहादुर लडाकुको
संज्ञा दिएर अरुकै युद्धहरु लडन प्रेरित गरिरहयो सँधै हामीलाई । पहिलो
विश्वयुद्धमा हिउँका आँधीहरुमा भोक भोकै कक्रिएर मर्न पऱ्यो , दोस्रो महायुद्धमा औले ज्वरो र हैजाले भोक भोकै मरे धेरै मरे हाम्रा
पुर्खाहरु बर्माको जङ्गल, खाडीदेशका मरुभुमि र पूर्वीय
युरोपतिर । घरमा वृद्ध माता पिता स्वास्नी छोराछोरीहरु कुनै दिन युद्धबिर फर्किन्छ
कि भन्ने आशा आसैमा मरेर गए । यदाकदा दुईचार व्यक्तिहरुलाई भी० सी०-का तक्मा र
अन्य तक्माहरु छात्तिमा सिउराएर उनिहरुले आफ्नै
बिरताका कथाहरु लेखे जस्तै —“Untill
lion write their own history the tale of the hunt will always glorify by
the hunter”हामी ति जङ्गलका
सिंहहरु जस्तै शिकार हौँ । शिकारीहरुले आफै प्रशंसा गरिरहे सिधा शिकारीले भोग्नु
परेका व्यथाहरु हामीसित प्रशस्तै प्रमाण छ । म खोजी खोजी लेख्दैछु मेरो युद्ध
कथाहरुमा । हो युद्धभूमिमा पिठ्यु फर्काउनु नसक्नु नै हाम्रो बिडम्बना हो ।
म
किन लेख्छु ? भन्ने कुरोलाई अघि बडाउँदै मेरो
बिर्मशमा भने कारण म जुन स्थानबाट हजुरहरु समक्ष आएको छु जहाँ हरिया पहाडहरु छन्
सेता हिमाल पारी भित्तामा देखिन्छ । मेरो घर आँगनको गोरेटो भएर उकाली ओराली जीवन
चलायमान छ । माटो र पसिनाको गन्ध छ उनिहरुकै कथा लेख्छु । म अझ लेख्छु मेरो मनमा
बिझेका कुराहरु मेरो पुर्व सिमाना चीनसंग जोडिएको छ बिचमा काँडेतार लगाएर आउन जान
प्रतिबन्ध लगाइएको छ । पासपोर्ट र भिसा बाहेक आउन पाइन्दैन , नेपाल मैत्री सन्धी मुताबिक बिना रोकटोक
आउन जान सक्छन् नेपाल एवं भारतका बासिन्दाहरु । हाम्रो अस्तित्वको
चिन्हारीको दोष यहि सन्धिले गर्दा तपाईँहरु दिग भ्रमित रहनु हुन्छ सँधै । आज पनि
दर्शक दिर्घामा सुनिरहनु भएका स्रोताहरुलाई म नेपालबाट आएको हुँ भनेर । वास्तवमा म
खाँटी भारतिय हुँ । १९५० को भारत नेपाल मैत्रीय सन्धी जबसम्म खारिज गरिन्दैन
तपाईहरुको सोचमा म सायदै परिवर्तन ल्याउन सक्षम बनौला । यो १९५० को सन्धि चाँडो खारिज
हुन पर्छ र दुवै देश बिच काँडे तार लगाइनु पर्छ । मैले मेरा एउटा कथा “काँडे तार” मा यो कुरा उल्लेख गरेको छु । नेपाल
सरकार पनि यो सन्धीको विरोधमा छन् । म अखबारमा पढछु । यसो गरेमा दुवै देशको
मित्रता अझ घनिष्ट भएर जानेछ । अब नेपालले आफ्नो सार्वभौम राष्ट्रको संविधान पनि
कोरिइसकेको छ । चीन र भारतको हस्तक्षेपदेखि अलग बस्न चाहन्छ नेपाल । म भारतिय हुँ
भन्दा तपाईँहरुलाई पत्यार नलाग्नुको मुख्य कारण पनि यहि १९५० सालको नेपाल भारत
मैत्री सन्धी नै हुन् ।
हम्रो
वार्ताको लगत्तै पछि उत्तर पूर्विय भारत अनि दक्षिणका प्रख्यात कविहरुका संगोष्टी
थिए । बोडोल्याण्डबाट नविन मल्ल बोरो , त्रिपुराबाट
केकबरक कवि थिए बोराई देव बर्मा, मलायलम कवि हरिदास, रवाटिरिकपम सुनिता देवी मणिपुरबाट तामिल कवि एस० बिजय लक्ष्मी, तेलगु कवि डमेरा रामुलु अनि खरसाङबाट बिनोद रसाईली नेपालीमा सबै कविहरु
अब्बल दर्जाका थिए। आ-आफ्नो कविताहरु अङग्रेजी अनि हिन्दीमा अनुवाद गरेर सुनाए ।
बिनोद रसाईलीको अनुदित कवितांश यस्तो थियो
आन्दोलन
ऐले
झरी थामिएको छ
भरखरै
थामिएको छ ।
अविरल
वर्षातपछि
रातभरिको
मुसलधारे पानीले
वर्ष
भरिको बाली सखाप पारेछ
तल्लो
घरको काँइला छैन
सुन्दैछु
आफ्नै घरको भित्ताले चेप्टिएछ ।
सुर्यका
उज्याला हातहरु
कैले
गाउँ पस्ने हो ?
प्रश्नका
रेलगाडीहरु
मनको
त्यो पुरानो लिकमा
फेरि
गुडन थालेको छ ।
र्कायक्रमको
समाप्ति पछि परिचयको आदान प्रदान भो फोटोहरु खिच्यौँ अन्नमलाई इन्टरन्यासनल होटल
आई फर्कने तम्तयारीमा लाग्यौँ । दुईदिनको त्यो र्कायक्रम भिठो सपना जस्तै बितेर
गयो सैकडौँ अनुहारहरु देख्यौँ, धेरैले निमंत्रणा दिए उनिहरुको ठाउँ दर्शन गर्नलाई
। आफूले पनि निम्तो टारी राख्यौँ दुइचारलाई । तर म निदिष्ट छु त्यहाँ उपस्थित दुई-चार
अनुहारहरु बाहेक अरूलाई जीवनमा दोस्रोपल्ट देख्ने छुइन, उनिहरु बस एउटा मिठो
सम्झनामा बाँचीरहने छ, पन्डेचरी र ती अनुहारहरु आफू बाँचुन्जेल सम्म ।
घर
पुगेर छुदेनको कथासंग्रह १९८६ पढन बाँकी नै थियो । कालेबुङ जिल्लाको माग विषय कुरा चुलिसकेको
रहेछ।